Home समाचार सिन्धुली एसबीआई बैंक लुटपाट : करिब १ करोड ८० लाख बरामद, सुमो गाडी र चालक नियन्त्रणमा

सिन्धुली एसबीआई बैंक लुटपाट : करिब १ करोड ८० लाख बरामद, सुमो गाडी र चालक नियन्त्रणमा

by नेपाल पल्स
0 comments

काठमाडौं । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित हायुटारको एसबीआई बैंक शाखामा भएको लुटपाट घटनामा संलग्न समूहले प्रयोग गरेको सुमो गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै लुटिएको रकममध्ये करिब १ करोड ८० लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ।

प्रहरीका अनुसार पुस २९ गते साँझ करिब ८ बजेर ४० मिनेट जाँदा पाँच–छ जनाको समूह बैंकभित्र प्रवेश गरी लुटपाट गरेको थियो। लुटेराहरूले बैंकका सुरक्षागार्ड रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिई खुकुरी प्रहारसमेत गर्दा उनी सामान्य घाइते भएका थिए। त्यसपछि बैंकका कर्मचारीलाई नियन्त्रणमा लिएर बैंकमा रहेको नगद लुटेर फरार भएका थिए।

प्रारम्भिक अनुसन्धानअनुसार लुटेराहरूले बैंकबाट करिब ३ करोड १० लाख ९५ हजार २ सय ८३ रुपैयाँ लुटेर लगेका थिए। घटनापछि खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा १ करोड ८० लाख १० हजार ५ सय रुपैयाँ नगद फेला पारी बरामद गरेको जनाएको छ।

लुटपाटमा संलग्न समूहले बनेपाबाट रिजर्भ गरी प्रयोग गरेको BAD ०३९८ नम्बरको टाढा सुमो जीप समेत प्रहरीले नियन्त्रणमा लिएको छ। सो गाडीका चालक भवत सिंह थापालाई पनि नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ।

यसअघि जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले लुटपाटपछि प्रहरी टोली परिचालन भइसकेको र एक गाडी नियन्त्रणमा लिइएको जानकारी दिएका थिए। चालकले आफू नकाबधारीहरूलाई बिहेमा जाने भन्दै गाडी रिजर्भ गरिएको दाबी गरे पनि घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न फरार लुटेराहरूको तीव्र खोजतलास तथा विस्तृत अनुसन्धान कार्य जारी रहेको प्रहरीले बताएको छ।


Discover more from Nepalpulse

Subscribe to get the latest posts sent to your email.

You may also like

Leave a Reply

Our Company

Nepal Pulse Sanchar Pvt.Ltd.

Newsletter

Subscribe our newsletter for latest world news. Let's stay updated!

Laest News

@2025 Nepal Pulse- All Right Reserved  .