काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष उनले राजीनामा बुझाएर सिंहदरबारस्थित मन्त्रालयमा आफ्ना कामकाे जानकारी दिन पत्रकार सम्मेलन नै गरेका छन्
जेनजी आन्दोलनको बलमा गठन भएको नागरिक सरकारमा घिसिङ भदौ ३० गते मन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी थिइन् ।
विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक हुँदै मन्त्री घिसिङले आफ्नै संरक्षकत्वमा उज्यालो नेपाल पार्टी दर्ता गराएका थिए । घिसिङले १४ पुसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग उपसभापतिको सहमति गरी एकता गरी आउँदाे निर्वाचनमा उम्मेदवार बन्ने तयारी तीब्र पारेका थिए ।
गैरदलीय सरकारको मन्त्री पदमा रहेकै दौरानमा घिसिङ रास्वपाको राजनीतिक गतिविधिमा संलग्न रहेको भन्दै राजीनामा दिनुपर्ने आवाज उठको थियो ।
सामाजिक सञ्जाल र जनस्तरमा मन्त्रीहरूको राजनीतिक गतिविधिमाथि प्रश्न उठेपछि सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले राजीनामा दिन मुखै खाेलेकी थिइन् ।
कुर्सीभन्दा माथि आत्मसम्मान, सरकार भन्दा ठूलो जनता
पत्रकार सम्मेलनमा कुलमानले भने, ‘मैले दिएको राजीनामाको निर्णय त न भाग्ने निर्णय हो, न त जिम्मेवारीबाट विमुख हुने प्रयास हो । यो मेरो आत्मसम्मान, नैतिकता, सिद्धान्त र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता हो ।’
उनी अगाडि भन्छन्, ‘म मान्छु पदभन्दा ठूलो मूल्य हुन्छ, सिद्धान्त कुर्सीभन्दा माथि हुन्छ । आत्मसम्मान र सरकारभन्दा ठूलो हुन्छ जनता ।’
उनले थप भने, ‘पदमा रहँदा मात्रै होइन पदबाट बाहिर रहँदा देश र जनताको पक्षमा उभिनु नै कर्तव्य ठानेको छु ।’
उनले भारतसँग बिजुली किनेकाे विषयमा आफूले भ्रष्टाचार नगरेकाे दाबी पनि गरेका छन् ।
Discover more from Nepalpulse
Subscribe to get the latest posts sent to your email.