अछाम — अछाम जिल्लामा विद्यालय परिसरबाट १३ वर्षीया छात्रा अपहरणमा परेकी छन्। बान्नीगढी जयगढ गाउँपालिका–स्थित सरस्वती माध्यमिक विद्यालय जयगढमा कक्षा ७ मा अध्ययनरत ती छात्रालाई विद्यालय परिसरबाटै अपहरण गरिएको हो।
प्राप्त विवरणअनुसार विद्यालय छुट्टी भएपछि घर फर्किन लागेकी ती छात्रालाई रमरॊशन गाउँपालिका–७ का ३५ वर्षीय सन्तोष ऐडीले “घर पुर्याइदिन्छु” भन्दै मोटरसाइकलमा लगेको बताइएको छ। घटनाका प्रत्यक्षदर्शीहरूले बालिकालाई जबर्जस्ती मोटरसाइकलमा राख्दा उनी रोएको समेत बताएका छन्। उक्त घटना बिहीबार (पौष १७ गते) भएको हो।
पीडित परिवारका अनुसार घटनाको जानकारी पाउनासाथ जयगढ प्रहरी चौकीलाई जानकारी गराइए पनि प्रारम्भिक प्रतिक्रिया गैरजिम्मेवारपूर्ण भएको आरोप लगाइएको छ। बिहीबार साँझ नै प्रहरीलाई जानकारी गराइए पनि हालसम्म बालिकाको अवस्था र अवस्थिति अज्ञात रहेको परिवारको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार अपहरणमा संलग्न व्यक्तिको पहिचान भइसकेको छ र खोजी कार्य तीव्र बनाइएको छ। घटनामा संलग्नताको आशंकामा अपहरणकर्ताकी पत्नी झरना सौँदलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सुदूरपश्चिम प्रदेशका सबै प्रहरी इकाइ तथा सम्बन्धित निकायलाई परिचालन गरी घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। विद्यालय परिसरबाटै भएको गम्भीर प्रकृतिको अपहरण घटनाको अनुसन्धान तीव्र भए पनि किशोरीको अवस्था अझै पत्ता लाग्न सकेको छैन।
घटनापछि पीडित परिवार शोक र त्रासमा छ भने विद्यालय परिसरमै अध्ययनरत उमेरकी बालिका अपहरणमा परेपछि स्थानीय बासिन्दामा पनि भयको वातावरण सिर्जना भएको छ। यस घटनाले प्रारम्भिक प्रहरी प्रतिक्रियामात्र होइन, राज्यको समग्र सुरक्षा व्यवस्था र विद्यालय सुरक्षामाथि समेत गम्भीर प्रश्न उठाएको छ।
Discover more from Nepalpulse
Subscribe to get the latest posts sent to your email.