Home विज्ञान-प्रविधि अहिलेसम्मकै ठुलो आईपीओ ल्याउने तयारीमा एलन मस्कको स्पेसएक्स, ३० अर्ब डलर बढी जुटाउने लक्ष्य

अहिलेसम्मकै ठुलो आईपीओ ल्याउने तयारीमा एलन मस्कको स्पेसएक्स, ३० अर्ब डलर बढी जुटाउने लक्ष्य

by नेपाल पल्स
0 comments

काठमाडौँ । एलन मस्कको नेतृत्वमा रहेको अन्तरिक्ष अन्वेषण कम्पनी ‘स्पेसएक्स’ ले शेयर बजारमा सूचीकृत हुनका लागि आईपीओ जारी गर्ने योजना अघि बढाएको छ । यस प्रक्रियामार्फत कम्पनीले ३० अर्ब डलरभन्दा बढी रकम जुटाउने लक्ष्य राखेको छ ।

यो योजना सफल भएमा अहिलेसम्मकै सबैभन्दा ठुलो शेयर सूचीकरण हुने जनाइएको छ । कम्पनीले आफ्नो कुल बजार मूल्याङ्कन करिब १.५ ट्रिलियन डलर पुर्‍याउने लक्ष्य राखेको छ । यो मूल्याङ्कन साउदी अरेबियाको तेल कम्पनी ‘साउदी अरामको’ ले सन् २०१९ मा कायम गरेको रेकर्डको हाराहारीमा हुनेछ । उक्त कम्पनीले त्यस समयमा २९ अर्ब डलर उठाएको थियो ।

यस विषयमा जानकार स्रोतलाई उद्धृत गर्दै ब्लुमबर्गले स्पेसएक्सको व्यवस्थापन र सल्लाहकारले सन् २०२६ को मध्य वा अन्त्यसम्ममा यो आईपीओ जारी गर्ने तयारी गरिरहेको उल्लेख गरेको छ । यद्यपि बजारको अवस्था र अन्य कारणले गर्दा यो समय सन् २०२७ सम्म लम्बिन सक्ने सम्भावना पनि छ ।

हाललाई यो विषय गोप्य राखिएको हुनाले स्रोतको नाम बाहिर आइसकेको छैन । यद्यपि अधिकांश अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले कम्पनी स्रोतलाई नै आधार बनाएर स्पेसएक्सको शेयर निष्कासन सम्बन्धी समाचार बनाएका छन् ।

स्पेसएक्सको आईपीओ आउने खबर सार्वजनिक भएलगत्तै मङ्गलबार अन्य अन्तरिक्ष सम्बन्धी कम्पनीको शेयर मूल्यमा उछाल आएको छ । स्पेसएक्सलाई स्पेक्ट्रम बेच्न सहमत भएको इकोस्टारको शेयर १२ प्रतिशतसम्म बढेको छ भने रकेट ल्याबको शेयरमा पनि ४.३ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले आईपीओको तयारीका लागि आवश्यक पदमा कर्मचारी नियुक्त गर्ने र पुँजी कसरी खर्च गर्ने भन्ने योजना बनाइसकेको छ । ‘स्टारलिङ्क’ इन्टरनेट सेवाको विस्तार र ‘स्टारशिप’ रकेटको विकासले स्पेसएक्सको शेयर बजार यात्रालाई तीव्रता दिएको छ ।

कम्पनीले सन् २०२५ मा करिब १५ अर्ब डलर आम्दानी गर्ने अपेक्षा गरेको छ । यो बढेर सन् २०२६ मा २२ देखि २४ अर्ब डलर पुग्ने अनुमान छ । आम्दानीको ठुलो हिस्सा स्टारलिङ्कबाट आउने बताइएको छ ।

आईपीओबाट सङ्कलन भएको रकम कम्पनीले अन्तरिक्षमा आधारित डेटा सेन्टर विकास गर्न र त्यसका लागि आवश्यक चिप खरिद गर्न खर्च गर्ने योजना बनाएको छ ।

हाल कम्पनीले आफ्ना कर्मचारीहरूका लागि शेयर बिक्री खोलेको छ । यसमा प्रतिशेयर मूल्य करिब ४२० डलर तोकिएको छ । यसले कम्पनीको अहिलेको मूल्याङ्कन ८०० अर्ब डलरभन्दा माथि पुर्‍याएको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् । तर, यो सत्य नभएको एलन मस्कको भनाइ छ ।

सामाजिक सञ्जाल एक्समा लेख्दै उनले स्पेसएक्स धेरै वर्षदेखि नाफामा रहेको र कर्मचारी तथा लगानीकर्तालाई तरलता प्रदान गर्न वर्षमा दुईपटक शेयर बाइब्याक गर्ने गरेको बताएका छन् ।


Discover more from Nepalpulse

Subscribe to get the latest posts sent to your email.

You may also like

Leave a Reply

Our Company

Nepal Pulse Sanchar Pvt.Ltd.

Newsletter

Subscribe our newsletter for latest world news. Let's stay updated!

Laest News

@2025 Nepal Pulse- All Right Reserved  .