काठमाडौं । लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ। यससँगै लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बनेको छ भने सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक उपविजेतामै सीमित भएको छ।
फाइनल खेलमा कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रम्पलम्यानको उत्कृष्ट बलिङ प्रदर्शनपछि सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै अलआउट भयो। सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले मात्र ९ ओभरमै पूरा गर्दै सहज जित दर्ता गर्यो।
लगातार जितसहित ऐतिहासिक उपाधि
लुम्बिनीले च्याम्पियन बन्ने क्रममा पछिल्ला ६ खेल लगातार जितेको छ। प्रतियोगिताको सुरुआतमा चितवन राइनोजलाई पराजित गरेपछि लगातार तीन खेल हार्दा लिग चरणबाटै बाहिरिने जोखिममा पुगेको टोलीले त्यसपछि सानदार पुनरागमन गर्दै उपाधि हात पारेको हो।
दिनेश अधिकारीको विस्फोटक सुरुआत
फाइनलमा लुम्बिनीका ओपनर दिनेश अधिकारीले आक्रामक ब्याटिङ गर्दै पहिलो ओभरमै सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीलाई चार छक्का प्रहार गरेपछि टोलीले २७ रन जोडेको थियो। दिनेशले १३ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ४२ रनको विस्फोटक इनिङ्स खेले।
दिनेशले डार्शी सर्टसँग पहिलो विकेटका लागि मात्र ४ ओभरमै ५८ रनको साझेदारी गरे। तर पाँचौँ ओभरमा हेमन्त धामीले सर्ट र दिनेश दुवैलाई आउट गर्दै उक्त साझेदारी तोडे। सर्ट १४ बलमा १३ रन बनाएर बोल्ड भए भने दिनेश सोही ओभरको तेस्रो बलमा स्कट कुगेलेइनबाट क्याच आउट भए।
सुदूरपश्चिमको कमजोर ब्याटिङ
यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९.१ ओभरमै ८५ रनमा समेटियो। यो स्कोर एनपीएलको संयुक्त रूपमा चौथो न्यून स्कोर तथा एनपीएल फाइनलको सबैभन्दा कम योगफल हो।
सुदूरपश्चिमका ओपनर इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए। ५१ बल खेलेका उनले १ चौका प्रहार गरे। कप्तान दीपेन्द्र सिंह ऐरीसँग चौथो विकेटका लागि २५ रनको साझेदारी गरे। दीपेन्द्रले २० बलमा १ छक्का सहित १३ रन जोडे। हर्मित सिंह र स्कट कुगेलेइनले समान १०–१० रन बनाए।
लुम्बिनीको धारिलो बलिङ
सुदूरपश्चिमको इनिङ्स ध्वस्त पार्ने क्रममा लुम्बिनीका रुबेन ट्रम्पलम्यान, रोहित पौडेल र शेर मल्लले समान ३–३ विकेट लिए। कप्तान रोहित पौडेलले ११औँ ओभरमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे। उनले दीपेन्द्र सिंह ऐरी, दीपक बोहरा र पुनित मेहरालाई क्रमशः आउट गरेका थिए। रोहितले ४ ओभरमा मात्र १२ रन खर्चिए।
ट्रम्पलम्यानले २.१ ओभरमा ३ रन खर्चेर ३ विकेट लिए भने शेर मल्लले ४ ओभरमा १८ रन दिएर ३ विकेट हात पारे। तिलक भण्डारीले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिए।
Discover more from Nepalpulse
Subscribe to get the latest posts sent to your email.